पवित्रताको पर्वको प्रतीकका रूपमा मनाइने छठ पर्व आज सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिँदै छ । छठको मुख्य दिन आइतवार साँझ श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।
छठको विशेष दिन बेहुली झैं सिंगारिएका स्थानीय नदी, तलाउ, तथा जलाशयमा पुगी व्रतालु नरनारीले सँझिया घाटको सूर्यलाई अर्घ दिएर मनाइने प्रचलन छ । सोही प्रचलनअनुसार मध्यतराईका पर्सा, बारा र रौतहटलगायतका जलाशयमा पनि श्रद्धालु भक्तजनले परम्परालाई यो वर्ष पनि निरन्तरता दिए ।
मध्यतराईको विशेष घाटका रूपमा चिनिएको पर्साको घडीहर्वा पोखरी परिषरमा पनि लाखौं श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरू सहभागी भएका थिए ।
तराईमा कडा निष्ठा र भक्तिभावपूर्वक मनाइने सूर्य उपासनाको पर्व कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमी तिथिसम्म (चार दिन) मनाउने गरिन्छ । पहिलो दिन ‘नहाय–खाय’ गरेका भक्तजनले त्यसको भोलिपल्ट ‘खरना’ गर्दछन् ।
छठमा हरेक घरका सबै सदस्य नयाँ बस्त्र धारण गरी खानामा समेत परेज (सतर्कता) अपनाई शुद्धाशुद्धी भएर मनाउँछन् । छठमा केला, नरिवल, अदुवा, उखु र ठेकुवा तथा माटोबाट बनाइएका घरेलु सामानको नै बढी प्रयोग हुने भएकाले किसानकर्मबाट उत्पादिन र निर्मित सामानको नै बाहुल्यता हुने गरेको छ ।
यो पर्वमा मध्यतराईको वीरगन्जलगायतका बजारमा लामो समय बिक्री नभएर भण्डारण गरिएका लत्ताकपडालगायतका सामग्रीको खपत पनि विगतका ३-४ वर्ष यता धेरै भएको स्थानीय व्यापारीले बताएका छन् ।
मधेशको वीरगञ्ज र जनकपुरमा हुने छठको तयारी र सजावटलाई विशेष मानिन्छ । स्थानीय अन्य नदी, पोखरी र तलाउहरूको सरसफाइ गरी जलाशयमा छठको पूजा गरिन्छ ।
गएका केही वर्ष कोभिड–१९ को विश्व प्रभावसँगै मध्यतराईका सर्वसाधारणले खुलेर मनाउन नपाएको यो पर्व अहिले भने निकै भव्य रूपले प मनाएको देखिन्छ । काठमाडौंको कमलपोखरी, बागमती किनार लगायत जलाशय, मकवानपुरको राप्ती नदीको किनार लगायत स्थानमा पनि छठ पूजामा भक्तजन र दर्शनार्थीको भीड लाग्ने गरेको छ ।
कार्यविधि संवाददाता । १४ कार्तिक २०७९, सोमबार ०६:३० बजे