दोलखामा शान्तिपूर्ण मतदान सम्पन्न

बाँकी  ४ वटा मतदानस्थलका १० मतदान केन्द्रमा बिहीबार शान्तिपूर्ण रुपमा  मतदान सम्पन्न भएको छ ।

प्रदेश १ (१) को बैत्यश्वर गाउँपालिका–६, ३ र २ नं. वडाको ८ वटा मतदान केन्द्र र तामाकोसी गाउँपालिका–२ जफेको हेल्थपोस्ट मतदानस्थलका २ वटा केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको हो ।

सुरक्षा चुनौती रहेकाे साे जिल्लामा  निर्वाचन र मतदातालाई सुरक्षित मतदान गर्न प्रहरी टोल-टोलमै खटिएका थिए । ८ हजार ५सय १४ मतदाता रहेको यी मतदानस्थलमा ४ हजार २ सय ५७ मत खसेको छ ।

अतिसंवेदशील रहेका ४ वटै मतदानस्थलमा सुरक्षा अवस्था कडा परिएको थियो । मतदानस्थल र मतदाताको सुरक्षाका लागि जनपद, सशस्त्र र नेपाली सेनाका १४ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताए ।

मंसिर ४ गतेको निर्वाचनका क्रममा यी मतदान केन्द्रमा ९० प्रतिशतभन्दा बढी मत खसेको थियो । उक्त मत फर्जी खसेको र मतपेटिका फुटेको लगायत विषयमा नेकपा एमालेले उजुरी दिएपछि निर्वाचन आयोगले छानबिन गरेर आज पुन: मतदान गराएको हो । मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वदलीय बैठक बसेर बिहीबारबाटै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएका  छन्  ।