भारतबाट घर फर्किन लागेका सुर्खेतका नेपाली कामदार बाटोमै लुटिए

नयाँ वर्ष  मनाउन  भारत कालापहाडबाट घर आउन थालेका सुर्खेतका चार जना नेपाली कामदार बाटोमै लुटिएका  छन् ।

गत  सोमबार हल्द्वानीबाट घर फर्किन लागेका सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ताराबहादुर मगर, मिलन राजी, लालबहादुर नेपाली र केशर वली सहित चार जना  लुटिएकाे  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएकाे छ ।

यात्राका क्रममा भारतमै लुटिएका उनीहरुबाट ४५ हजार भारु र चार थान मोबाइल लुटिएको प्रहरीले जनाएको छ ।

भारत उत्तराखण्डको हल्द्वानीमा दुई महिलाले  चिसो पेय पदार्थमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ पीडीतहरु लुटिएको  जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापाले बताए ।

‘चारै जना सीमा क्षेत्रमा बेहोस अवस्थामा भेटिएका हुन्,’  प्रमुख एसपी  थापाले  भने, ‘सबैजना रित्तो हात नाकामा आइपुगेका थिए ।’ उनीहरुलाई प्रहरीले उद्धार गरेर महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरेको हो ।  अस्पतालमा उपचारपछि मंगलबार निको भएर उनीहरु सुर्खेत घरतर्फ लागेका छन् ।