महाविद्यालय सुर्खेतकाे वार्षिकोत्सव र अभिभावक दिवस सम्पन्न

सैनिक आवासीय महाविद्यालय सुर्खेतकाे १८औँ वार्षिकाेत्सव तथा १७ औँ अभिभावक दिवस सम्पन्न भएकाे छ ।

नेपाली सेनाका उत्तर पश्चिम पृतना सुर्खेतका नि‌‌. पृतनापति ए‌ंवम सहायक रथी प्रकाश थापाकाे प्रमुख आतिथ्यमा सैनिक आवासीय महाविद्यालय सुर्खेतकाे १८औँ वार्षिकाेत्सव तथा १७ औँ अभिभावक दिवस सम्पन्न भएकाे छ ।

कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी तथा महाविद्यालय प्रमुख व्यवस्थापक निकिल कुवँरले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि महाविद्यालयले आफ्नाे स्थापना कालदेखि नै समयसापक्षे  शिक्षण प्रणालीलाई आत्मासाथ गर्दै अगाडि बढिरहेकाे बताए ।

उहाँले कर्णाली प्रदेशमा राम्रा विद्यालयमध्ये  सैनिक आवासीय महाविद्यालय पनि उत्कृष्ट महाविद्यालयको रूपमा स्थापित रहेको बताउनुभयो ।

प्रमुख अतिथि तथा सहायक रथी थापाले  महाविद्यालयले आर्जेको उपलब्धीलाई सकारात्मक दिशातर्फ अग्रसर भएर लाग्नुपर्नेमा जोड दिँदै विद्यार्थीलाई आफूले हासिल गरेको ज्ञानलाई देश र समाजप्रति समर्पित भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

वार्षिकाेत्सव तथा अभिभावक दिवसकाे अवसरमा  विद्यालयका विभिन्न सर्वोत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक,अभिभावक, सैनिक कर्मचारी  र १५ वर्षसम्म अनवरतरूपमा महाविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई प्रमुख अतिथिले कदरपत्रसहित सम्मान प्रदान गर्नुभयो ।

महाविद्यालयका प्रिन्सिपल प्रेम विश्वकर्माले दिवसकाे अवसरमा महाविद्यालयका शैक्षिक गतिविधि, उत्कृष्ट अभ्यास तथा भावी योजनाका बारेमा समेत प्रकाश पार्नुभएको थियो । विद्यार्थीहरुले गीत, नृत्य, नाटक, प्रदर्शनीलगायत विभिन्‍न विधामा मनोरञ्‍जनात्मक प्रस्तुति देखाएका थिए ।