मुख्यमन्त्री पद , जोगिएला ?

आज बिहिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै छन् ।

केन्द्रमा सत्ता गठबन्धन पल्टिएपछि केही दलले समर्थन फिर्ता लिएकाले लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन लागेका हुन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन् । अपरान्ह ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाले जनाएकाे छ  ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि  विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुसार मुख्यमन्त्री चौधरी  आज प्रदेशसभाको बैठकमा ४ बजे विश्वासको मत लिँदैछन् ।

उनीहरू नेपाली कांग्रेसको तर्फबाट हाल मुख्यमन्त्री रहेका छन् ।

केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन हुँदा मुख्यमन्त्री बनेका सुदूरपश्चिमका मुख्यमन्त्री शाह माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । केन्द्रमा माओवादी–एमाले गठबन्धन बने पनि सुदूरपश्चिममा फरक गठबन्धनको कसरत भइरहेको छ ।

मुख्यमन्त्री शाहले प्रदेशमा रहेका नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र समेत मिलाएर नयाँ गठबन्धनको सरकार बनाउने प्रयास गरिरहेका छन् ।प्रदेशसभामा कांग्रेसको १८, नागरिक उन्मुक्तिको सात, राप्रपाको एक र स्वतन्त्र एक गरी २७ मत आफ्नो पक्षमा जुटाउने मुख्यमन्त्री शाहको कसरत छ ।

तर, नागरिक उन्मुक्तिभित्रको विवादका कारण उनले विश्वासको मत पाउने वा नपाउने भन्ने टुंगो छैन । राप्रपाले भने शाहलाई मत दिने देखिएको छ ।

यस्तै, लुम्बिनी प्रदेशसभामा ८७ सदस्य छन्, जसमध्ये राप्रपाबाट निर्वाचित कपिलवस्तुका सांसद जानकीप्रसाद यादव निलम्बित छन् । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना कम छ ।