तिला नदीकाे भैँसीगौँडामा बेलिब्रिज निर्माण हुने 

कालीकोट ।  बाढीले पक्की पुल बगाएपछि लामो समयदेखि सडक सम्पर्कविहीन बनेको भैँसीगौँडामा अब बेलिब्रिज निर्माण हुने भएको छ । तिलागुफा नगरपालिका–६ देखि ९ लाई जोड्ने तिला नदीमाथि अस्थायी बेलिब्रिज निर्माण प्रक्रिया अघि बढेको हो । २०७९ साल असोजमा आएको बाढीले निर्माण सम्पन्न भए पनि हस्तान्तरण नभएको पुल बगाएपछि तिलागुफा नगरपालिका–९, १०, ११ तथा महाबै गाउँपालिका क्षेत्र सडक सञ्जालबाट विच्छेद भएका थिए ।

कानुनी जटिलताका कारण नयाँ पुल निर्माणमा ढिलाइ भइरहेको अवस्थामा अब बेलिब्रिज निर्माणका लागि बाटो खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चैत १० गते सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरालाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि बेलिब्रिज निर्माणको प्रक्रिया सुरु भएको हो । मन्त्रीस्तरको निर्णयअनुसार बेलिब्रिज ढुवानी र जडानसम्बन्धी खर्च तिलागुफा नगरपालिकाले व्यहोर्नेछ ।

स्थानीयवासी नवीन उपाध्याय ढकालले बेलिब्रिज निर्माणको खबरले राहत मिलेको बताए । उनका अनुसार पुल अभावका कारण नागरिकहरूले दैनिक आवतजावतमा समस्या भोग्दै आएका छन्। वर्षेनि तिला नदी पार गर्ने क्रममा दुर्घटना हुने र ज्यान जाने घटना समेत दोहोरिँदै आएको छ । बेलिब्रिज निर्माणपछि आवतजावत सहज हुने र स्थानीय जनजीवन सामान्य बन्ने अपेक्षा गरिएको छ ।