सुर्खेत । बहुप्रतिक्षित बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गर्ने तयारीमा पुगेको छ । आयोजनासम्बन्धी आवश्यक अध्ययन सम्पन्न भइसकेको छ भने निर्माणपूर्वका अधिकांश प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । सुर्खेत र अछाम जिल्लाको सीमामा निर्माण हुने यस आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) पनि अन्तिम चरणमा पुगेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका आयोजना प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार आयोजनाले २०८२ असारमा उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ ।
मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ र अब भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्वीकृति लिएपछि वितरण प्रक्रिया अघि बढाइने तयारी रहेको छ । आयोजना निर्माणका क्रममा सुर्खेत र अछाम जिल्लामा गरी करिब १८ रोपनी जग्गा प्रभावित हुने अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा रुख कटानको प्रक्रिया पनि अघि बढाइएको छ । ४३९ मेगावाट क्षमताको यस जलविद्युत् आयोजना निर्माणका लागि करिब ८८ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ । तर हालसम्म पूर्ण लगानी सुनिश्चित भइसकेको छैन । कर्मचारी सञ्चय कोषबाट ७ अर्ब रुपैयाँ लगानी सुनिश्चित भएको छ भने अन्य स्रोत जुटाउन विभिन्न निकायसँग पहल भइरहेको आयोजनाले जनाएको छ । यो आयोजना कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् उत्पादन कम्पनी लिमिटेड र करिब ६ लाख सञ्चयकर्ताको सहभागितामा स्थापना गरिएको सञ्चयकर्ता हाइड्रो अवधारणाअनुसार अघि बढाइएको हो ।
पूर्वाधार विकासअन्तर्गत आयोजनास्थलसम्म पहुँच सहज बनाउन अछामतर्फ १८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने सुर्खेततर्फ १४ किलोमिटरमध्ये १० किलोमिटर सडक निर्माण भइसकेको छ । साथै, कैलालीको सुगरखालबाट करिब ३० किलोमिटर दूरीमा ३३ केभी प्रसारण लाइन विस्तार गर्ने काम पनि अघि बढाइएको छ ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । यस अन्तर्गत कर्णाली नदीमा १४० मिटर अग्लो बाँध निर्माण गरिनेछ भने जलाशयमा करिब १ करोड २५ लाख घनमिटर पानी सञ्चय गरिनेछ । उक्त पानी ६.६ किलोमिटर लामो हेडरेस सुरुङ र ३४५ मिटर लामो पेनस्टक पाइपमार्फत टर्बाइनमा पठाइनेछ । डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ मा निर्माण हुने छ भने विद्युत् गृह, बेस क्याम्प र अन्य मुख्य संरचना अछामको ढकारी गाउँपालिका–६ मा रहनेछन्। बाँधस्थल भने दुवै गाउँपालिकाको सीमामा पर्नेछ । बाँध निर्माणपछि करिब २१ किलोमिटर लामो जलाशय क्षेत्र बन्नेछ । यसैबीच, सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रमेश सापकोटाले आयोजनाको प्रगति बारे जानकारी लिँदै निर्माण प्रक्रिया तीव्र बनाउन सम्बन्धित निकायसँग समन्वय र पहल गरिने बताएकाे छ ।



कार्यविधि संवाददाता । २० चैत्र २०८२, शुक्रबार १३:५९ बजे