हवाई सेवा अवरुद्ध, यात्रु र बिरामी मारमा

हुम्ला ।  हिमाली जिल्ला हुम्लामा लगातार वर्षा र हिमपातका कारण विगत तीन दिनदेखि हवाई सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, सिमकोटका प्रमुख महेन्द्र बहादुर सिंहका अनुसार मङ्गलबारदेखि बिग्रिएको मौसमका कारण हवाई उडान प्रभावित भएका हुन् । नेपाल एयरलाइन्सले मङ्गलबार र बुधबारका लागि उडान तालिका तय गरे पनि प्रतिकूल मौसमका कारण उडान सञ्चालन हुन सकेन ।

बिहीबार बिहानसम्म पनि वर्षा र हिमपात जारी रहेकाले तत्काल उडान सञ्चालन हुने सम्भावना न्यून रहेको सिंहले जानकारी दिए । हवाई सेवा अवरुद्ध हुँदा सिमकोट–नेपालगञ्ज रुटका यात्रुहरू सबैभन्दा बढी प्रभावित भएका छन् । विशेषगरी अस्पतालबाट रिफर गरिएका बिरामीहरू गम्भीर समस्यामा परेका छन् । सिंहका अनुसार खराब मौसमसँगै नेपालगञ्जमा निजी एयरलाइन्सका जहाज उपलब्ध नभएकाले आगामी सोमबारसम्म नियमित उडान पुनः सञ्चालन हुने सम्भावना कम देखिएको छ। गत सोमबार मात्रै नेपाल एयरलाइन्सको एक उडान सञ्चालन भएको थियो ।