सल्यान । सल्यानस्थित वनस्पति अनुसन्धान केन्द्रले ५ सय ५१ प्रजातिका वनस्पति संरक्षण गर्दै आएको जनाएको छ । तीमध्ये २० प्रजाति दुर्लभ वनस्पतिका रूपमा सूचीकृत रहेका छन्, जसले जैविक विविधता संरक्षणमा केन्द्रको भूमिका महत्वपूर्ण रहेको देखाउँछ । केन्द्रले स्थानीय तथा बाह्य क्षेत्रबाट सङ्कलन गरिएका बिरुवालाई संरक्षण गर्दै आएको छ । विशेष गरी लोपोन्मुख र जंगली अवस्थामा घट्दै गएका प्रजातिहरूलाई प्राथमिकताका साथ संरक्षण गरिँदै आएको छ । संरक्षण गरिएका वनस्पतिमध्ये करिब आधा देशका विभिन्न स्थानबाट ल्याइएका हुन् भने केही शोभनीय र अनुसन्धानात्मक महत्वका प्रजाति विदेशबाट समेत संकलन गरिएको छ ।
केन्द्रका प्रमुख डा. मित्र पाठकका अनुसार वनस्पति संरक्षणसँगै औषधीय तथा आर्थिक महत्वका बिरुवाको उत्पादन र विस्तारमा पनि जोड दिइएको छ । वनस्पति उद्यानभित्रको मुख्य नर्सरीका साथै मुलपानी, लुहाम र दहखोलामा रहेका नर्सरीमार्फत विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ । कपुरकोट गाउँपालिका–३, मुलपानीमा अवस्थित करिब ५.५ हेक्टर क्षेत्रफलमा फैलिएको वनस्पति उद्यान अहिले प्राकृतिक तथा शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यहाँ अध्ययन, अनुसन्धान र अवलोकनका लागि विद्यार्थी, अनुसन्धानकर्ता तथा विज्ञहरू आउने क्रम बढ्दो छ ।
जिल्लाभित्रका विद्यालयका विद्यार्थीहरूले जडीबुटीको पहिचान, औषधीय गुण तथा संरक्षणका विषयमा जानकारी लिन अध्ययन भ्रमण गर्ने गरेका छन्। केन्द्रका अनुसार हरेक वर्ष करिब १० हजार आगन्तुक यहाँ पुग्ने गरेका छन्। चालू आर्थिक वर्षमा मात्र हालसम्म करिब ५ हजार आगन्तुक पुगेका छन्, जसमध्ये एक हजार ८०० भन्दा बढी विद्यार्थी रहेका छन् । उद्यानभित्र बोटानिकल गार्डेनसँगै हिमालको आकृति निर्माण गरिएको छ, जसले पर्यटकलाई थप आकर्षित गरेको छ । प्राकृतिक वातावरणमै विभिन्न प्रजातिका वनस्पति नजिकबाट अवलोकन गर्न पाइने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।
यसैबीच वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने भएका छन् । “समृद्धिका लागि वनस्पति” भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ। शनिबार कपुरकोटमा “टिमुर कप” ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ भने आइतबार अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरिने केन्द्रले जनाएको छ ।



कार्यविधि संवाददाता । २९ चैत्र २०८२, आईतवार १०:५८ बजे