सुर्खेत । कर्णाली राजमार्गमा वर्षौँदेखि अलपत्र रहेका १० वटा रुग्ण ठेक्काहरूलाई सडक डिभिजन कार्यालय जुम्लाले एकैपटक खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । सम्झौता भएर पनि तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा पटक–पटकको म्याद थपलाई बेवास्ता गर्ने निर्माण कम्पनीहरूविरुद्ध कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्यको घोषणा गरेको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार ६ वटा निर्माण कम्पनीसँग भएका ठेक्का तत्काल खारेज गरिसकिएको छ भने बाँकीमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको छ । यस कदमले पहुँच र प्रभावका आधारमा ठेक्का लिएर काम नगर्ने प्रवृत्तिमा ठूलो प्रहार गरेको मानिएको छ ।
कार्यालयले कालिकोटको दहीखोला–मान्म–नाग्म खण्ड तथा जुम्लाको कुडारीदेखि कालिकोटसम्मको सडक मर्मत र कल्भर्ट निर्माणका लागि धुर्वा निर्माण सेवासँग भएको सम्झौता रद्द गरेको छ। साथै कृष्ण निर्माण सेवा, अविनास निर्माण सेवा र विनाम्रा निर्माण सेवा सुर्खेतसँग भएका विभिन्न मर्मतसम्बन्धी ठेक्काहरू पनि खारेज गरिएका छन् । डिभिजन प्रमुख श्रवणकुमार महताराका अनुसार पटक–पटक लिखित र मौखिक अनुरोध गर्दा पनि निर्माण व्यवसायीहरूले आफ्नो दायित्व पूरा नगरेपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(२) अनुसार ठेक्का अन्त्य गर्ने निर्णय गरिएको हो । यसअघि पनि कालिकोट, मुगु तथा जुम्ला–डोल्पा सडकखण्डका चारवटा रुग्ण ठेक्का तोडिएको कार्यालयले जनाएको छ ।
निर्माण व्यवसायीहरूको लापरबाहीका कारण कर्णाली राजमार्ग प्रयोग गर्ने हजारौँ यात्रु दैनिक सास्ती भोग्दै आएका थिए। अब नयाँ ठेक्का प्रक्रियामार्फत सडक सुधार हुने अपेक्षा गरिएको छ । रुग्ण ठेक्का अन्त्य गर्ने नीतिगत निर्देशनलाई कार्यान्वयनमा ल्याउँदै जुम्ला सडक डिभिजनले थालेको यो कदम विकास निर्माणलाई गति दिने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ । निर्माण कम्पनीहरूले सम्झौताअनुसार काम नगर्दा विकास बजेट खर्च हुन नसक्ने र पूर्वाधार जीर्ण बन्दै जाने समस्या देखिँदै आएको थियो । यस्तो अवस्थामा गरिएको यो निर्णयलाई दीर्घकालीन रूपमा प्रभावकारी कदमका रूपमा लिइएको छ ।



कार्यविधि संवाददाता । २२ चैत्र २०८२, आईतवार ०९:३७ बजे