हुम्ला । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले बजार क्षेत्रको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहोर उठाउने दिन थप गरेको छ । पर्यटकीय सिजन सुरु भएसँगै बजार क्षेत्रमा फोहोरको मात्रा बढ्न थालेपछि दुर्गन्ध र सरसफाइ समस्यालाई नियन्त्रण गर्न हप्तामा एक दिन हुँदै आएको फोहोर संकलन अब हप्तामा दुई दिन गरिने भएको हो । गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराका अनुसार जेठ पाँच गते मङ्गलबारदेखि लागू हुने गरी अब सिमकोट बजारको फोहोर प्रत्येक मङ्गलबार र शुक्रबार उठाइनेछ ।
यसअघि हप्तामा एक पटक मात्र फोहोर संकलन गरिँदै आएको थियो । मानसरोवर–कैलाश यात्रा गर्ने पर्यटकहरूको आगमन बढेसँगै सिमकोट बजारमा चहलपहल बढेको छ । तर सोही अनुपातमा फोहोरको मात्रा पनि वृद्धि भएपछि बजार क्षेत्र दुर्गन्धित बन्न थालेको स्थानीयले बताएका छन् । विशेषगरी पर्यटकको आगमन हुने समयमा बजार सफा र व्यवस्थित राख्नुपर्ने आवश्यकता महसुस गर्दै गाउँपालिकाले सेवा विस्तार गरेको हो । गाउँपालिकाका अनुसार अब तोकिएका दुई दिनमा जति फोहोर जम्मा भए पनि ट्याक्टरमार्फत नियमित रूपमा संकलन गरी डम्पिङ साइटसम्म पु¥याइनेछ ।
यसका लागि अस्पताल क्षेत्रदेखि विजय होटल हुँदै तीनधारासम्मको बजार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । लेखा अधिकृत बोहराले बजारलाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउने उद्देश्यले फोहोर व्यवस्थापन प्रणाली सुधार गरिएको बताए । उनका अनुसार पर्यटकीय चाप बढ्दै जाँदा फोहोर व्यवस्थापनलाई समयमै नगर्दा वातावरणीय समस्या थप गम्भीर बन्न सक्ने भएकाले यस्तो निर्णय गरिएको हो । गाउँपालिकाले वार्षिक करिब पाँच लाख रुपैयाँ बजेट खर्च गरेर फोहोर व्यवस्थापनको काम गर्दै आएको छ । ट्याक्टरमार्फत नियमित रूपमा फोहोर उठाउने व्यवस्था लागू भएपछि बजारको सरसफाइमा उल्लेखनीय सुधार आएको स्थानीय व्यवसायी तथा बासिन्दाहरूको भनाइ छ ।
स्थानीयका अनुसार पहिले फोहोर लामो समयसम्म थुप्रिँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिने र आवतजावतमा समेत असहज हुने अवस्था थियो । तर पछिल्लो समय नियमित संकलन सुरु भएपछि बजार क्षेत्र केही हदसम्म सफा र व्यवस्थित देखिन थालेको छ । गाउँपालिकाले आगामी दिनमा फोहोर वर्गीकरण, डस्टबिन विस्तार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना समेत अघि सारेको जनाएको छ । पर्यटकको बढ्दो आगमनसँगै सिमकोटलाई स्वच्छ र आकर्षक बजारका रूपमा विकास गर्न स्थानीय सरकार लागिपरेको छ ।



कार्यविधि संवाददाता । ७ जेष्ठ २०८३, बिहीबार १४:०६ बजे