काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी अवस्थामा छ ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिश गरेको छ । यद्यपि राष्ट्रपतिले प्रमाणीकरण गर्न बाँकी छ ।
राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । ‘५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ । आज थप केही साथीहरु पनि आउनुहुन्छ,’ उनले भने, ‘अध्यादेश आएपछि दल दर्ता गर्छौं ।’
नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ । अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, नेकपा एमाले समाजवादी नै फाइनल होला ।’
नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहनेछन् भने अरु पदाधिकारीबारे छलफल नै भएको छैन ।
कार्यविधि संवाददाता । २ भाद्र २०७८, बुधबार १३:०८ बजे