कोरोना महामारीबीच थारु बस्तीमा माघीको रमझम

पुसको अन्तिम दिनदेखि थारु बस्तीमा माघ तथा माघी पर्वको उल्लास छाएको छ ।

कोरोना महामारीका कारण प्रशासनले जारी गरेको लकडाउनबीच पर्वको रौनक बढेको हो । थारु बस्तीहरू माघी सम्बन्धी गीतहरूले गुञ्जयमान छन् ।

माघ लहैली
सुरिक सिकार खैली रे हाँ
सखिय हो
माघक् पिली गुरीगुरी जाँर ।

यसैबीच, पर्व मनाउन टाढा–टाढा बसेकाहरूको गाउँघरमा जमघट भएको छ । चेलीबेटीहरू माइतीघर पुगेका छन् । गाउँको नेतृत्वकर्ता अर्थात बरघर, भल्मन्सा, देशबन्धिया, गुरुवा, भर्रालगायत चयन माघ महिनामै चयन हुने हुँदा नेतृत्व चयनको बहस पनि शुरू भएको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञालाई मध्यनजर गरी थारु बस्तीमा माघौटा नाच, सखिया नाच, झुमरा नाच, लाठी नाच, ढमार लगायतको तयारी भएको बताइएको छ ।

धनगढी उपमहानगरपालिका–७ पटेलाका रामसिंह चौधरीले कोरोनाको महामारीलाई मध्यनजर गरी माघ मनाउने तयारी चलिरहेको बताए ।

‘पुस्तौंदेखि गाउँघरमा माघीको अलग्गै रौनक हुन्छ । त्यसपछि माघ २ गते जखेरा कार्यक्रममार्फत गाउँघरको नेतृत्व चयन गर्ने कार्यक्रम होला । मलाई लाग्छ गाउँघरमा महामारीको प्रभाव कम देखिन्छ ।’

थारु वस्तीमा पुस अन्तिम दिन (३० गते) जिटा मार्ने चलन रहिआएको छ । जिटाको रूपमा सामूहिक रूपमा बंगुर, भेडा, बाख्राको मासु खाने र रमाइलो गर्ने प्रचलन रहिआएको छ ।

लम्कीचुहा नगरपालिका–७ हरदहनीका स्थानीय समेत रहेका थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर थारुले आफूहरू गाउँघरमै धुमधामसँग पर्व मनाउने तयारी गरेको जानकारी दिए ।

उनले भने, ‘थारु जातिमा माघ आफ्नै विशेष महत्त्व छ । सांस्कृतिक, धार्मिक महत्त्व मात्रै होइन, पहिचानसँग जोडिएको पर्व हो । आर्थिक वर्ष पनि हो । नयाँ वर्ष हो ।’

संयोजक थारुले आफू नयाँ ढंगले पर्व मनाउने तयारी गरेको योजना पनि सुनाए । संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम समेत रहेको उनले बताए तर महामारीलाई मध्यनजर गरी पर्व मनाउनुपर्ने उनको सुझाव छ ।

माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरूलाई भेटघाट गर्ने, ठूलाबाट आशिर्वाद लिने र सानालाई आशिर्वाद दिने प्रचलन रहिआएको छ । यो दिन पनि आफ्नो घरमा रहेका ढिकरी लगायतका पाकवान खाने र खुवाउने चलन रहेको छ ।

मकर संक्रान्तिका दिन नुहाउनले वर्षभरी गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । यो दिन पशुपन्छी बध हुँदैन । यो दिनलाई नै थारु समुदायले नयाँ वर्ष मान्ने गरेका छन् ।

यसैबीच नुहाईधुवाई गरेर आ–आफ्नो घरमा आई ‘निस्राउ’ निकाल्ने प्रचलन चन्दै आएको छ । निस्राउ भनेको चामल, मासको दाल र नूनको पाहुर होे । जुन आफ्ना चेलीबेटीहरूलाई पाहुराको रूपमा दिने जाने चलन हो । निस्राउ आफ्नो औकात हेरेर केही थप गरेर पनि दिने गरिन्छ । जसले समुदायमा एकता, प्रगाढ सम्बन्ध, आपसी सहयोग सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्दै आएको बताइन्छ ।

माघीको तेस्रो दिन (माघ २ गते) लाई खिच्रहवा भन्ने गरिएको छ । यही दिनदेखि माघी डेवानी तथा खोजनी बोजनी हुने थारु बुद्धिजीवीहरू बताउँछन् ।

समाजका कैलाली संयोजक थारुका अनुसार माघ पर्वको तेस्रो दिनदेखि गाउँगाउँमा नयाँ नेतृत्वकर्ता एवं भल्मन्सा, बडघर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ । यसरी नेतृत्व छान्ने कार्यलाई ‘माघी डेवानी’ भन्ने गरिएको छ । यस्तो प्रचलन दाङदेखि पश्चिममा रहेको छ ।

एउटा परिवारका सबै सदस्यहरू एकजुट भई उपरान्त पारिवारिक गतिविधि कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल हुने गर्दछ । यसलाई ‘खोजनीबोजनी’ पनि भन्ने गरिएको छ । ‘खोजनीबोजनीमा अघिल्लो वर्ष परिवारले गरेको गतिविधि, आर्थिक हरहिसाबबारे छलफल तथा समीक्षा हुने गर्दछ,’ संयोजक थारुले भने, ‘छलफलबाट आगामी दिनका लागि परिवारको योजना तर्जुमा हुने गरेको छ ।’

नयाँ अध्याय

माघीको आगमनसँगै आदिवासी थारु समुदायमा नयाँ अध्याय पनि शुरू हुन्छ । माघ १ गतेबाट थारु संवत २६४५ को शुरूवात हुँदैछ ।

चालू ईस्वी संवतमा ६२३ जोड्दा भगवान् बुद्धको जन्म मिति आउँछ । थारू समुदायको नयाँ वर्ष माघी पर्वभन्दा भगवान् बुद्ध ३ महिना २७ दिनपछि जन्मिएकाले भगवान् बुद्धको जन्म मितिलाई थारू संवत् भन्ने गरिएको संयोजक थारु बताउँछन् । जसअनुसार थारु समुदायमा नयाँ अध्यायको शुरूआत भएको हो ।

यसैबीच पर्वको अवसरमा सरकारले माघ १ गते सार्वजनिक बिदा दिएको छ भने थारु बहुल क्षेत्रका स्थानीय तहले पनि १–३ दिनसम्म सार्वजनिक बिदाको घोषणा गरेका छन् । कैलालीको कैलारी गाउँपालिकाले ३ दिनसम्म बिदा दिने निर्णय गरेको छ ।