सुर्खेत, बुधबारदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् । प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठका अनुसार कर्णाली राजमार्ग मात्रै १० ठाउँमा अवरुद्ध भएको छ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका–८ बादुका, दुल्लु नगरपालिका–२ को बरबारेभिर, कालीकोटको तिलागुफा नगरपालिका–१ को गाडगोडेनी र बालुवा, वडा नं ३ को राँचुली, वडा नं ५ को धनडाँ, खाँडचक्र नगरपालिका वडा नं १ को सुनारखोला, वडा नं २ को ज्यानमाराभिर र वडा नं ३ को खरिखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
त्यस्तै छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सुर्खेतको गुर्भाकोट–९ को पोखरे, सुर्खेतकै सिम्ता गाउँपालिका–४ को बालिखोला र जाजरकोटको भेरी नगरपालिका–१० को कालाभुरमा पहिरोले सडक अवरुद्ध भएको छ ।
रातानाङ्ला–धरमपोखरा सडक खण्डको वीरेन्द्रनगर–१३ को राउते गल्छी, सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत गुराँस गाउँपालिकाको रातिखोला र चोचेखोलामा पनि सडक अबरुद्ध छ ।
यसैगरी बोटेचौर–दाङ सडक खण्डअन्तर्गत गुर्भाकोट नगरपालिका–१ को काल्चे, बोटेचौर सल्यान सडक खण्डको गुर्भाकोट–३ को भुजेल र राप्ती राजमार्गअन्तर्गत रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–३ को खारानेटामा पनि सडक अवरुद्ध भएको प्रवक्ता श्रेष्ठले बताए ।
“अवरुद्ध सडक खुलाउन प्रहरी, स्थानीय र जनप्रतिनिधि सक्रिय हुनुहुन्छ । यद्यपि पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भएको छ”, उनले भने । (रासस)
कार्यविधि संवाददाता । २२ आश्विन २०७९, शनिबार १५:४६ बजे