बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुप प्र ०१-००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो।
जिप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो। उहाँका अनुसार जिपमा कति जना सवार थिए भन्ने खुलेको छैन। अहिलेसम्म सात जनाको शव फेला परेको र कति जना घाइते भएका छन् भन्ने यकिन नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो।
मृतकको सनाखत हुन बाँकी छ। घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन्। सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाउँपालिका वडा नं २ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो। भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको प्रत्यक्षदर्शीले बताएका छन्।
कार्यविधि संवाददाता । २ कार्तिक २०७९, बुधबार १८:०१ बजे