सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थल राजधानी दमास्कस र उत्तरी शहर अलेप्पोका बिहीबार बन्द भएका छन् ।
सरकारी सञ्चारमाध्यमले एक अज्ञात सैन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘ हमास र इजरायलबीच छैटौं दिन एकैसाथ गरिएको आक्रमणले दुई विमानस्थलको अवतरणका लागि छुट्ट्याइएको धावनमार्गमा क्षति पुर्याएको छ ।’
गाजाको सीमा पार गरी शनिबार सयौं हमासका बन्दुकधारीले इजरायलमा प्रवेश गरी एक हजार २०० जनाको हत्या गरेकाे थियाे । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलको भ्रमण गरेको र इरानी राष्ट्रपति इब्राहिम राइसीले आफ्ना सिरियाली समकक्षी बसर अल असदसँग टेलिफोन वार्ता गरी अरब र इस्लामी मुलुकहरूलाई इजरायलको सामना गर्न सहयोग गर्न आह्वान गरेको केही घण्टापछि नै यी घटनाहरू भएका हुन् ।
इजरायलले सिरियामा गरेको आक्रमणबारे विरलै टिप्पणी गर्ने गरेको छ, तर उसले असदको सरकारलाई समर्थन गर्ने आफ्नो कट्टर शत्रु इरानलाई त्यहाँ आफ्नो पदचिन्ह विस्तार गर्न नदिने बताउँदै आएको छ ।
कार्यविधि संवाददाता । २५ आश्विन २०८०, बिहीबार २०:१० बजे