कालिकोट — सोमबार बिहान ४ बजेदेखि सुत्केरी व्यथाले छटपटाएकी नरहरिनाथ गाउँपालिका–७ गुब्लागडा मालकोटकी घुमिसरा बुढा शाहीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
३० वर्षीया घुमिसरालाई दोस्रो सन्तान जन्माउने क्रममा अत्यधिक व्यथा लागेपछि स्थानीय स्वास्थ्य चौकी मालकोटले सिफारिस गरे अनुसार राष्ट्रपति महिला सुरक्षा कार्यक्रमबाट हेलिकोप्टरमा सुर्खेत लागिएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । ‘गाउँमा सुत्केरी व्यथाले च्यापेपछि अवस्था जटिल भयो,’ उनले भने, ‘पहल गरेर हेलिकोप्टरमा उद्धार सम्भव भयो ।’
स्वास्थ्यचौकी मालकोटका इञ्चार्ज अमरबहादुर बटालाले अवस्थालाई ‘गम्भीर र जटिल’ बताउँदै तुरुन्तै उच्चस्तरीय उपचार आवश्यक रहेकोले रिफर गरिएको जानकारी दिए ।
एक वर्षको अवधिमा मात्र कालिकोटका ९ जना सुत्केरी आमाको उद्धार भएको जिल्ला प्रशासनले जनाएको छ ।
कार्यविधि संवाददाता । ८ बैशाख २०८२, सोमबार १३:०३ बजे