हुम्ला – करीब १ महिनाकाे अवधिमा लिमी कर्णाली नदीको सहायक नदी हल्ची खाेलामा मोटर गुड्न काठे पुल बनेको छ । लिमीको हल्ची खाेलामा गाउँजोड्ने सडक सञ्जालमा पर्ने नदीमा काठेपुल बनाइएको नाम्खा गाउँपालिका हुम्लाले जनाएकाे छ ।
गत शनिवार देखी काठे पुलबाट गाडी गुड्न थालेसँगै स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको नाम्खा गाउँपालिका हुम्लाका अध्यक्ष विष्णु बहादुर तामाङ्गले बताए ।
स्थानीय उपभोक्ता समितिबाट निर्माण भएको पुल सञ्चालनमा आएपछि लिमीको तील गाउँ सडक सञ्जालसँग जोडिएको छ । तील गाउँसम्म सडक निर्माण भए पनि पुल नभएको कारण यातायात सञ्चालनमा आउन सकेको थिएन । लिमीका दुई गाउँ हल्ची र जाँङ भने यसअघि नै सडक सञ्जालमा जोडिएका थिए ।
अध्यक्ष तामाङ्गले प्रदेशकाे १५ लाख र गाउँपालिकाकाे ५ लाख गरी २० लाखकाे लागतमा पुल बनाइएको बताए ।
कार्यविधि संवाददाता । २९ कार्तिक २०७८, सोमबार १०:२० बजे