जुम्ला । जुम्लाको हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा मंगलबार दिउँसो गएको सुख्खा पहिरोका कारण तीनवटा घरमा क्षति पुगेको छ । गाउँ माथिबाट खसेको पहिरोले स्थानीय ललिजन अधिकारीका दुई घरमध्ये एउटा पूर्ण रूपमा ध्वस्त बनाएको छ भने अर्कोमा आंशिक क्षति पुगेको छ । साथै, बुच्चो अधिकारीको घरमा पनि पहिरोले असर पुर्याएको छ ।
पहिरोका कारण घरभित्र रहेका अन्न, भाँडाकुँडा तथा अन्य सामग्री पूर्ण रूपमा नष्ट भएको जनाइएको छ । स्थानीयका अनुसार घटनाबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । दिउँसोको समयमा पहिरो गएकाले कुनै मानवीय क्षति भने नभएको राहतको पक्ष मानिएको छ । स्थानीयवासीले यसअघि नै उक्त क्षेत्रमा ढुङ्गा खस्ने जोखिमबारे सचेत गराउँदै एक साताअघि गाउँपालिकामा निवेदन दिएका थिए। जनप्रतिनिधिहरूले निरीक्षण गरी समस्या समाधान गर्ने आश्वासन दिए पनि ठोस पहल नभएको गुनासो गरिएको छ ।
हाल प्रभावित परिवारहरू छिमेकीको घरमा बस्दै आएका छन् । खल्ढुङ्गा गाउँ लामो समयदेखि कमजोर भौगोलिक बनावटका कारण पहिरोको उच्च जोखिममा रहेको स्थानीय बताउँछन् । यसअघि २०७९ साल असोज महिनामा परेको अविरल वर्षाले सोही गाउँका छ वटा घर बगाएको थियो, तर त्यतिबेला पनि पर्याप्त राहत नपाएको उनीहरूको भनाइ छ । वर्षायाम नजिकिँदै जाँदा जोखिम अझ बढ्ने भन्दै स्थानीयले तत्काल राहत, सुरक्षित स्थानमा पुनःस्थापना र दीर्घकालीन समाधानको माग गरेका छन् ।



कार्यविधि संवाददाता । १८ चैत्र २०८२, बुधबार ११:३८ बजे