सल्यानमा अटो दुर्घटना, पाँच जना घाइते

सल्यान ।  सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिकै अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान करिब ११:२० बजे किमुचौरबाट मुलपानीतर्फ जाँदै गरेको म.प्र. ०३–००३ स ४०१५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल भिरमा खसेको हो । दुर्घटनामा चालक ३८ वर्षीय टिकाराम राना, ७२ वर्षीय डिलबहादुर सुनार, ३८ वर्षीय सागर एरी, ४४ वर्षीय टोपबहादुर एरी र भारतको उत्तर प्रदेश घर भई हाल भाँडा बिक्री गर्दै हिँड्ने ५२ वर्षीय सफि अहमद घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइतेमध्ये डिलबहादुर सुनार र सफि अहमदको अवस्था गम्भीर छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी कपुरकोट आधारभूत अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। त्यसपछि चार जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।