सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले प्रदेशका बहुआयामिक सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कूटनीतिक पहल सशक्त बनाउनुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा परराष्ट्र मन्त्रालय अन्तर्गत आर्थिक कूटनीति महाशाखाद्वारा आयोजित ‘निर्यात व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धन’ कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । मुख्यमन्त्री कँडेलका अनुसार कर्णालीमा पर्याप्त प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र आर्थिक सम्भावना भए पनि प्रभावकारी प्रचार–प्रसार र पहुँच अभावका कारण विश्व बजारको ध्यान आकर्षित गर्न नसकिएको छ ।
उनले विदेशस्थित नेपाली दूतावासहरूलाई केवल प्रशासनिक केन्द्रका रूपमा होइन, कर्णालीका मौलिक उत्पादन र पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने ‘मार्केटिङ हब’ का रूपमा विकास गर्नुपर्नेमा जोड दिए । हाम्रा कूटनीतिक नियोगहरूले कर्णालीका जडीबुटी, अर्गानिक कृषि उत्पादन र साहसिक पर्यटनबारे विश्वलाई जानकारी गराउन सक्नुपर्छ उनले भने यसले निर्यात वृद्धि र प्रत्यक्ष विदेशी लगानी (FDI) भित्र्याउन सहयोग पुर्याउँछ । उनले जलस्रोत, खनिज तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
साथै, विगतमा केन्द्र सरकारले कर्णालीप्रति देखाएको उपेक्षा र विभेदका कारण प्रदेश विकासमा पछि परेको उल्लेख गर्दै अब परिणाममुखी काम गर्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधि र विज्ञहरूले कर्णालीका उत्पादनको ब्रान्डिङ, गुणस्तर सुधार तथा भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । साथै, कूटनीतिक पहलसँगै स्थल र हवाई पहुँच विस्तार गर्न सके कर्णालीले आर्थिक रूपमा ठूलो फड्को मार्न सक्ने निष्कर्ष निकालिएको छ ।



कार्यविधि संवाददाता । २५ चैत्र २०८२, बुधबार १२:५९ बजे