धरानको भविष्य अब स्वतन्त्रको हातमा

प्रदेश १ को केन्द्रबिन्दुका रूपमा रहेको धरान उपमहानगरपालिकामा आफूले जित्ने दाबी नेपाली कांग्रेस र एमालेका उम्मेदवारले गरेका थिए । एमालेले ‘लालकिल्ला’ दाबी गर्दै आएको धरानमा नेतृत्व स्थापित हुनेमा एमाले ढुक्कजस्तै थियो । कांग्रेस पनि गएको ‘उपनिर्वाचन’ मा आफूले जितेकाले आफ्नै पार्टीको नेतृत्व स्थापित हुनेमा ढुक्कजस्तै थियो । त्यसो त कांग्रेसलाई सत्तारूढ गठबन्धनको समेत साथ थियो ।

तर, मत पेटिकामा खसेको मतले भने एमाले र कांग्रेस दुवैको दाबीलाई गलत साबित गरिदएको छ कांग्रेस एमालेले ‘भाउ’ नै नदिएका स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) भारी मतका साथ विजयी भएका छन् ।

दलप्रतिको वितृष्णाको उपज

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार साम्पाङले २० हजार ८ सय २१ मत प्राप्त गरेर विजयको माला पहि¥याउँदा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राई १६ हजार ५९ मत पाएर निकटतम् प्रतिद्वन्द्वी भएका छन् । एमालेकी मञ्जु भण्डारीले साम्पाङले पाएको मतभन्दा ८ हजार कम १२ हजार ८ सय २५ चित्त बुझाउनुपरेको छ । आफ्नो परम्परागत गढमा फराकिलो मतमा तेस्रो भएकामा एमाले नेताहरू पनि अचम्ममा परेका छन् ।

साम्पाङले मेयर जित्दा उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका आइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । बेघाले २० हजार ५ सय १० मत प्राप्त गर्दा नेकपा एमालेका पदम लिम्बुले १७ हजार ६ सय ६ मत प्राप्त गरे ।

एमालेले धरानमा २०४९, २०५४ र २०७४ सालमा भएको स्थानीय निर्वाचनमा जितेको थियो । एमालेको ‘लालकिल्ला’ भनेर चिनिँदै आएको धरानमा २०७६ सालमा भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राईले मेयरमा बाजी मारेका थिए ।

करिब एक दशकदेखि धरानका मुद्दामा एक्लै रहेर आवाज उठाउँदै आएका साम्पाङलाई यसपटक धराने जनताले काम गर्ने अवसर दिएका छन् । अघिल्लो निर्वाचनमा पनि मेयरमा उम्मेदवार दिएका साम्पाङले ४ सय २२ मत मात्रै पाएका थिए । सोही कारण यसबेला दलहरूले उनलाई हलुका रूपमा लिएका थिए । चुनाव चिह्न लौरो लिएर चुनावी मैदानमा होमिएका साम्पाङको पक्षमा मत आएपछि यहाँको प्रमुख मुद्दा समाधान हुने धरानबासीले अपेक्षा राखेका छन् ।

त्यसो त साम्पाङ स्रष्टा पनि हुन् । उनी आफैं गीत लेख्छन्, गीतार बजाउँछन् र गुनगुनाउँछन् पनि । धरानका गल्लीगल्लीमा पुगेर जनताका समस्या बुझ्छन र आवाज उठाउँछन् ।

२०७६ को उपनिर्वाचनबाट चुनिएका जनप्रतिनिधिको कार्यकाल पूरा भइसक्दा जनतालाई खानेपानी वितरण गर्न नसकेपछि यसपटक धराने जनता परिवर्तनको पक्षमा रहेकाले उनको जित सहज भएको धरानेहरूको विश्लेषण छ । धरानको मुख्य समस्या नै खानेपानी भएकाले त्यसको समाधान गर्न आफूले प्रमुख मुद्दा बनाएका साम्पाङले यहाँका ससाना समस्या समाधान गर्ने लक्ष्य लिएका छन् ।

धरानको खानेपानीसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका निम्ति निरन्तर आन्दोलनमा सक्रिय साम्पाङले विजयी भएपछि भने, ‘यो जित धराने जनताको हो, जित्ने पनि धराने, जिताउने पनि धराने । म केवल माध्यम मात्रै हुँ, एउटा प्रतिनिधि पात्र ।’

उनले अब धरान उपमहानगरपालिका उच्च आदर्श, निष्ठा र अनुशासनका साथ जनहितमा रहेर काम गर्ने बताए । उनले भने, ‘मेरा सम्पूर्ण समर्थक तथा विरोधी सबैलाई हार्दिक धन्यवाद । विजय जुलुस निकाल्ने कुरा गर्दै हुनुहुन्छ, खादा र माला लगाइदिनुपर्दैन ।’

उनले अनावश्यक खर्च नगर्न र जनताको मत नै आफ्नो लागि जीवनभर पुग्ने सम्मान रहेको बताए । उनले आफूले निकै समयअघिदेखि धरानका प्रमुख मुद्दाका सवालमा अभियान चलाउँदै आएकाले जनताले राम्ररी मूल्यांकन गरेको प्रतिक्रिया दिए । ‘धरानको सदाबहार समस्या खानेपानी हो, बीपी प्रतिष्ठानउस्तै अवस्थामा छ,’ उनले भने, ‘यहाँको स्थानीय सरकारसँग जनता निरुत्साहित थिए तर मत हाल्नेबेला उत्साहित भएको अवस्था थियो । अब धराने जनताले सरकार भएको महसुस गर्नेछन् ।’

राजनीतिक दलहरूप्रति पनि साम्पाङको आक्रोश छ, ‘यिनीहरूले जनतालाई एउटा सूचना पनि दिन मान्दैनन्, जनतालाई राजनीतिक दलबाट केही आउँछ भन्ने आशा नै हराइसक्यो ।’

दलहरूप्रतिको वितृष्णा र काठमाडौंमा बालेन साहको चर्चाले पनि उनले चुनावमा जित निकालेको कतिपयको आँकलन छ । तर, पछिल्लो समय चर्चामा आएका बालेन साहभन्दा उनी दशकअघिदेखि नै यहाँका मुद्दामा आवाज बुलन्द बनाउँदै आएका थिए । दलहरूले योग्य उम्मेदवार छनोट नगरेका कारण पनि उनको सहज जित भएको धरानेहरूको तर्क छ ।

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक तथा राजनीतिक विश्लेषक राजेन्द्र शर्मा पछिल्लो समय दलहरूप्रति आममानिसको वितृष्णा भएका कारण यसपटक धराने जनताले परिवर्तनको पक्षमा मत हालेको तर्क गर्छन् ।

‘उनी लामो समयदेखि खानेपानी, सर्दु जलाधार अतिक्रमणविरुद्व तथा यहाँका प्रमुख मुद्दामा आवाज उठाउँदै आएका हुन्,’ शर्माले भने, ‘दलहरूले उठाएका अनुहार जनताले रुचाएनन्, मतदाता सचेत हुन थालेका छन् ।’

वरिष्ठ भाषाविद्, साहित्यकार प्रा.डा. टंक न्यौपाने भन्छन्, ‘हर्क साम्पाङले उठाएका मुद्दा सकारात्मक छ, उनी ५÷६ वर्षअघिदेखि अभियान चलाएर सक्रिय भएर हिँडे, त्यसैको परिणाम आजको अवस्थामा देख्न पाइयो ।’

उनले धरानमा स्वतन्त्र उम्मेदवारको सो परिणाम आउने अपेक्षा आफैंलाई नभएको बताउँदै भने, ‘यो खालको नतिजा आउँछ भनेर मैले नै पत्याएको थिइनँ तर अब साँच्चै मानिसहरूले परिवर्तन चाहेका रहेछन् भन्ने बुझ्न जरुरी छ ।’ अहिले धरानमा खानेपानीको समस्या बढ्दो रहेको अवस्थामा मुख्य एजेन्डा नै खानेपानीको उठाइरहँदा धराने जनताले चित्त बुझेर मत दिएको न्यौपानेको भनाइ छ ।

‘कांग्रेस, कम्युनिस्टहरूले पद खाए पनि परिवर्तन दिन सकेनन्, उनीहरूका एजेन्डा पनि भएनन्,’ न्यौपानेले थपे, ‘जनताले परिवर्तन खोजेका हुन्, जित्नु नजित्नु प्राविधिक कुरा हो, अहिले उनले जुन मत पाए, त्यसले पनि थाहा हुन्छ कि जनता परिवर्तनको पक्षमा छन् ।’

अब दलीय व्यवस्था खतरामा पर्दै गएको उनको दाबी छ । ‘अब यसकारण पनि थाहा हुन्छ कि यी कुराले बुझ्नुपर्छ, दलीय व्यवस्थाप्रतिको खतरा संकेत हो,’ न्यौपाने भन्छन्, ‘यो दलका लागि राम्रो लक्षण होइन, संगठन नहुँदा मान्छेको विश्वास थिएन, जनता भनेका भगवान हुन् भन्ने किसिमको अभिव्यक्ति आयो ।’ उनले धरानमा मात्रै नभई देशैभर दलबाट मानिस निरुत्साहित भएको बताए ।

को हुन् साम्पाङ ?
२०३९ सालमा खोटाङको खार्तम्छामा जन्मिएका साम्पाङ २०५५ सालतिर उच्च शिक्षा अध्ययनका लागि धरान झरेका थिए । महेन्द्र बहुमुखी क्याम्पसबाट उनले राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् ।

पूर्वब्रिटिस लाहुरेका छोरा सम्पाङले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए र रोजगारीका लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए ।

सामाजिक अभियानमा सक्रिय रहेका साम्पाङ राजनीतिमा सक्रिय मानिस भने होइनन् । खासमा उनी भुइँमान्छे हुन्, उनले भुइँमान्छेका समस्यालाई नजिकबाट नियालेका छन् । उनी भुइँमान्छेका कुरा सुन्छन् र समस्या समाधानका लागि पहल पनि गर्छन् । न कुनै मुख्य दलको सक्रिय कार्यकर्ता नै हुन्, न कुनै दलको झन्डा नै बोके । २०७६ मा भएको उपनिर्वाचनमा मेयरमा उठेका साम्पाङले त्यसबेला सोचेजस्तो मत प्राप्त गर्न सकेनन् । कम्युनिस्टले एकलौटी राज गरेको धरानमा उपनिर्वाचनताका कांग्रेसलाई जनताले रुचाए । तर, यसपटक भने धेरैजसो जनताले कम्युनिस्ट र कांग्रेससँग आजित भएकाले विकल्पका रूपमा साम्पाङलाई मत खसालेको देखिन्छ ।

धरान सरोकार मञ्च गठन गरेर खानेपानीका लागि आन्दोलनको नेतृत्व गर्ने कृष्ण पालिखेसँगको सहकार्यमा अभियान सञ्चालन गरेका साम्पाङ खानेपानीकै समस्याका विषयमा आफ्नो अभिव्यक्ति राखेपछि उनको लोकप्रियता बढ्दै गयो ।

धरानको सेउती र सर्दुमा तस्करी हुँदा स्थलगत रूपमै पुगेर विरोध जनाएका साम्पाङमाथि २६ जेठ २०७८ मा आक्रमणसमेत भएको थियो । धरानमा ढुंगा, गिटी र बालुवा उत्खननको विरोध जनाउँदै आएका उनीमाथि कुटपिटसमेत भएको थियो । तर, पनि उनले आफ्नो अडान छाडेका थिएनन् ।

त्यसो त स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुने उनी पहिलो व्यक्ति होइनन् धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपी हमाल निर्वाचित भइसकेका छन् भने काठमाडौं महानगरपालिकामा अर्का स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कांग्रेस, एमालेका उम्मेदवारभन्दा अगाडि छन् ।

आजकाे राजधानी दैनिकबाट ।