विद्यालयमा कक्षाकोठाको अभाव, तीनवटा कक्षाका विद्यार्थी एउटै कोठामा

विद्यालयमा कक्षा कोठाको अभाव हुँदा तीन वटा कक्षाका विद्यार्थी एउटै कोठामा बसेर पठनपाठन गर्न बाध्य भएका छन् ।

हुम्लाको चंखेली गाउँपालिका पिप्लाङ वडा नं ४ मा रहेको श्री रामशाह प्राथमिक विद्यालयमा विगत तीन वर्षदेखि कक्षा कोठाको अभाव हुँदा विद्यार्थी र शिक्षक दुबैले हैरानी खेप्नुपरेको छ ।

रामशाह  विद्यालयको भवनमा दुई वटा कोठा मात्र छन्, त्यसैमा एकदेखि तीनसम्मका विद्यार्थीलाई एउटा कक्षा कोठामा  तथा चार र पाँचका विद्यार्थीलाई अर्काे कक्षामा विद्यालयका शिक्षकले पढाउँदै आएका छन् ।

विद्यालयमा एकदेखि पाँचसम्मका ८६ जना विद्यार्थी रहेका छन् । कक्षा कोठको व्यवस्थापन नहुँदा अर्को विद्यालय पनि नजिकै   छैन् ।

विद्यालयका प्रधानाध्यापक मानबहादुर शाहीका अनुसार  विगत लामो समयदेखि स्थानीय सरकारसमक्ष कक्षा कोठाको समस्या समाधानका लागि आग्रह गर्दै आए पनि पालिकाले कुनै चासो देखाएको  छैन् ।  विद्यालयमा जम्मा छ जना शिक्षक छन् । त्यसमा पनि राहतका शिक्षक कहिले काहीँमात्र आउँछन् ।

स्थानीय सरकारले चासो नदेखाउँदा बालबालिकाहरु पढाइबाटै बञ्चित हुनु परेको छ । यस विषयमा तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने र बालबालिकालाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा विद्यालयकाे जाेड रहेकाे प्रधानाध्यापक शाहीले बताए  ।