हरेक चाडबाडका आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ । जस्तै, कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनै–पूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षेत्री पुरुषहरूले हिन्दू परम्परा अनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ ।
आजको दिन ज्वाइँ–ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाडाँको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाइकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूध–कुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाँधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरूमा मेला पनि लाग्दै आएको छ ।
विशेषतः ब्राह्मण, क्षेत्री या अन्य कुनै बैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातको नाडीमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ ।
सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्न ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो, जसलाई तयार पार्दा ३–३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ, जसलाई शिखा भनिन्छ ।
शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।
परिवर्तित परिपेक्ष्यमा चुँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षेत्रीमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जो कोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात् जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्छन् ।
स्मरणरहोस्, मन्त्रिएका यज्ञोपवितहरूको धारण गर्नाले सभिथा अर्थात् सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने विश्वास छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
समथर फाँटका गह्राहरूदेखि गैरीखेतसम्मका रोपाईँ सकिइहोला । शुरुमा रोपेका धानहरू त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ । अझ भदौरे धानका बालाहरू त फुट्न थालिसके होलान् ।
अब यो रोपाइँपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्करै चाड–पर्वहरू आउन थालेका छन् । वास्तवमा रोपाईँपछिको सुस्केरा मार्ने समय हो यो, चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ ।
खुसीयालीको चाड विशेष रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका छन् ।
आजको दिनको मन्त्रः
‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’
अर्थात्
‘जुन रक्षा (काँचो धागो)ले दानवहरूका महान राजा बलीलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्छु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’
क्वाति खाने दिन
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अंकुरित भएका गेडागुडीबाट बनेको ‘क्वाति’ हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वा’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति“ भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ ।
पानीमा भिजाई राखिएको ९ प्रकारका गेडागुडीहरू (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेडागुडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ । यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।
कार्यविधि संवाददाता । १४ भाद्र २०८०, बिहीबार ०८:०१ बजे