पटक पटक म्याद थप्दा पनि बनेन अस्पताल 

रुकुमपश्चिम ।  जिल्ला अस्पतालको नयाँ भवन निर्माण कार्य दुई पटक म्याद थप गर्दा पनि अझै पूरा हुन सकेको छैन । निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि हस्तान्तरणका लागि थप म्याद आवश्यक पर्ने देखिएको छ । २०४५ सालमा स्थापना भएको १५ शय्याको जिल्ला अस्पताल ३७ वर्षदेखि पुरानै संरचना र सीमित पूर्वाधारमा सञ्चालन भइरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीका अनुसार अस्पतालको स्तरोन्नति र नयाँ भवन निर्माण सम्पन्न गर्न विभिन्न निकायमा पहल गरिए पनि समस्या समाधान हुन सकेको छैन ।

२०७८ साल असार ३१ गते खानी थोदुङ मिसन जेभी निर्माण कम्पनीसँग तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । २३ करोड १५ लाखभन्दा बढी लागतमा २०८१ असार ३१ भित्र काम सक्ने लक्ष्य राखिए पनि हालसम्म भवन पूर्ण रूपमा तयार हुन सकेको छैन । यस अवधिमा दुई पटक म्याद थप गरिएको छ, जसअनुसार पछिल्लो समय २०८२ कात्तिक २८ सम्मको समयसीमा निर्धारण गरिएको थियो । हाल भवन निर्माणको करिब ९७ प्रतिशत प्राविधिक र ९५ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ । अब विद्युत् जडान, फर्स मिलान र केही प्राविधिक सुधारका काम बाँकी छन् । तर, यी कामका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको बताइएको छ ।

अस्पतालले म्याद थपका लागि सघन सहरी विकास कार्यालय जुम्लालाई पत्राचार गरेको भए पनि हालसम्म औपचारिक स्वीकृति प्राप्त भएको छैन । निर्माण ढिलाइका कारण सेवा प्रवाहमा अपेक्षित सुधार आउन सकेको छैन, जबकि बिरामीको चाप भने निरन्तर बढिरहेको छ । यसका साथै अस्पतालमा खानेपानीको अभाव, फोहोर व्यवस्थापन, घेराबार, कर्मचारी आवासजस्ता आधारभूत समस्या अझै कायम छन् । स्थानीय बासिन्दाले आफ्नै प्रयोगको पानी उपलब्ध गराएर अस्पताललाई सहयोग गर्दै आएका छन् ।

पोस्टमार्टम भवनसमेत २०४५ सालकै जीर्ण अवस्थामा रहेको छ ।  जिल्लामा शवगृहको अभाव हुँदा एउटै भवनमा एकभन्दा बढी शव राख्नुपर्दा व्यवस्थापन र सुरक्षामा कठिनाइ हुने गरेको अस्पतालले जनाएको छ । समग्रमा, भौतिक पूर्वाधारको अभाव र निर्माणमा ढिलाइले रुकुमपश्चिम जिल्ला अस्पतालको सेवा प्रभावकारितामा गम्भीर असर पारिरहेको छ ।