दैलेख । कर्णाली प्रदेश स्तरीय उद्यम, पर्यटन तथा औद्योगिक व्यापार मेला तथा चौथो दैलेख महोत्सव २०८३ औपचारिक रूपमा सुरु भएको छ । जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले स्थानीय स्तरमा उत्साह थपेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले दैलेखको विकास र समृद्धि बाह्य प्रयासभन्दा बढी स्थानीय नागरिकको सक्रियतामा निर्भर रहने धारणा राखे । उनले दैलेखीहरू स्वयं जागरूक भई आफ्नो सम्भावनालाई पहिचान गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार दैलेख प्राकृतिक स्रोतसाधनले सम्पन्न भए पनि त्यसको पर्याप्त उपयोग हुन सकेको छैन । प्रकृतिले दिएको अवसरलाई आर्थिक लाभमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुपर्ने बताए । ‘जिन्सीलाई नगदमा रूपान्तरण गर्ने सोच विकसित गर्नुपर्छ,’ उनले स्पष्ट पारे । मन्त्री शाहले कृषि क्षेत्रमा देखिएको चुनौतीप्रति पनि चिन्ता व्यक्त गरे। उनले जिल्लामा प्रशस्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि धेरै ठाउँमा बाँझो छाडिएको अवस्था रहेको उल्लेख गर्दै यसलाई सुधार गर्न आवश्यक रहेको बताए । रोजगारी र उत्पादनको अभावका कारण किसान पलायन हुने प्रवृत्तिले कृषि प्रणाली कमजोर बन्दै गएको उनको भनाइ थियो ।
निजी क्षेत्रको भूमिकाबारे बोल्दै उनले विकासका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको धारणा राखे । निजी क्षेत्रले उठाएका विषयहरूलाई सकारात्मक रूपमा लिँदै आवश्यक परे कानुन संशोधन गर्न सकिने उनले संकेत गरे । उनले राज्यले नीतिगत, प्राविधिक तथा संरचनात्मक सहयोग गर्ने तर प्रत्यक्ष व्यापारमा संलग्न नहुने स्पष्ट पारे । सरकारी कार्यक्रमहरूको कार्यान्वयन पक्षमा अझै सुधार आवश्यक रहेको स्वीकार्दै उनले नयाँ ढाँचामा कार्यक्रम ल्याइए पनि प्रभावकारी कार्यान्वयनमा चुनौती कायम रहेको बताए । यसै सन्दर्भमा उनले किसानलाई दिइने ५० प्रतिशत अनुदानको सीमा बढाउनुपर्ने व्यक्तिगत धारणा पनि सार्वजनिक गरे ।
पर्यटन क्षेत्रको सम्भावनाबारे चर्चा गर्दै मन्त्री शाहले कर्णाली प्रदेशलाई प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्रका रूपमा व्याख्या गरे । यहाँ रहेका तालतलैया, हिमाली भू–भाग, जडीबुटी, वन तथा नदीहरूले पर्यटन विकासका लागि ठूलो अवसर प्रदान गर्ने भए पनि ती स्रोतलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न अझै प्रयास अपर्याप्त रहेको उनले उल्लेख गरे । महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन प्रवाह वृद्धि र उद्यमशीलता विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । साथै, यसले दैलेखको पहिचानलाई राष्ट्रिय स्तरमा अझ सुदृढ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।



कार्यविधि संवाददाता । ८ बैशाख २०८३, मंगलवार ०९:०५ बजे