सिफारिसका लागि १२ घण्टासम्म पैदल यात्रा

हुम्ला ।  जिल्लका  दुई गाउँपालिकाका केही वडामा बसोबास गर्ने स्थानीयलाई नागरिकताको सिफारिस लिन ६ देखि १२ घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता कायमै रहेको छ ।  ताजाकोट गाउँपालिका–३ को मासपुर र सर्केगाड गाउँपालिका–१ को तुम्च गाउँका बासिन्दाले यस्तो सास्ती खेप्दै आएका हुन् । मासपुर गाउँका स्थानीय परिमल बुढाका अनुसार वडा कार्यालय टाढा रहेकाले सामान्य सिफारिस लिनसमेत करिब १२ घण्टासम्म हिँड्नुपर्ने अवस्था छ । सो बस्तीमा रहेका २२ घरधुरीका बासिन्दाले नागरिकता, प्रतिलिपि, राष्ट्रिय परिचयपत्रलगायतका सिफारिस लिन लामो यात्रा गर्नुपर्ने बाध्यता भोगिरहेका छन् । एउटै कामका लागि तीन दिनसम्म समय खर्चिनुपर्ने अवस्था रहेको उनले बताए । यस्तै समस्या सर्केगाड गाउँपालिका–१ को तुम्च गाउँमा पनि देखिएको छ।

स्थानीय प्रकाश मल्लका अनुसार वडा कार्यालय रहेको जैरगाउँ पुग्न करिब ६ घण्टा उकालो हिँड्नुपर्छ । उनले संघीय शासन प्रणाली लागू भए पनि गाउँमै सेवा पुगेको अनुभूति हुन नसकेको गुनासो गरे । वडा सदस्य उब्जन मल्लले पनि स्थानीयले सामान्य सरकारी कागजात लिन निकै सास्ती खेप्नुपरेको बताए। वडाध्यक्षले महिनामा दुई पटक गाउँमै आवश्यक कागजात लिएर आउने पहल गरे पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन । दुर्गम भौगोलिक अवस्था र पहुँचको अभावका कारण स्थानीयले अझै पनि आधारभूत प्रशासनिक सेवाका लागि लामो दूरी पार गर्नुपर्ने अवस्था हट्न सकेको छैन ।