युवाद्वारा “पुराना झण्डा परिवर्तन अभियान” 

सुर्खेत ।  समाजमा सकारात्मक सोच, राष्ट्रिय एकता र नागरिक सचेतना फैलाउने उद्देश्यले  युवाहरूले “पुराना झण्डा परिवर्तन अभियान” सुरु गरेका छन् । वीरेन्द्रनगर स्थित सार्वजनिक स्थल, चोक, सरकारी कार्यालय आसपास तथा विभिन्न संस्थामा राखिएका जीर्ण, च्यातिएका र फिक्का बनेका राष्ट्रिय झण्डाहरू हटाएर नयाँ झण्डा राख्ने अभियानले राम्राे भएकाे भन्दै स्थानीयले प्रशंसा गरेका छन् । अभियानको नेतृत्व गरिरहेका युवा अभियन्ता ट्रुमन शाहीका अनुसार राष्ट्रिय झण्डा देशको पहिचान, स्वाभिमान र राष्ट्रिय एकताको प्रतीक भएकाले यसको सम्मान गर्नु प्रत्येक नागरिकको दायित्व हो। उहाँले समाजमा जिम्मेवारीबोध र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्यले अभियान सुरु गरिएको बताए ।

“धेरै ठाउँमा राष्ट्रिय झण्डा च्यातिएको, पुरानो भएको वा अव्यवस्थित अवस्थामा राखिएको देखिन्थ्यो,” शाहीले भने  “त्यस्ता झण्डाले सम्मान भन्दा बेवास्ताको सन्देश दिन्छन् । त्यसैले युवाहरू मिलेर पुराना झण्डा परिवर्तन गर्ने अभियान थालेका हौँ । ” यस अभियानमा सामाजिक क्षेत्रमा सक्रिय युवाहरू ट्रुमन शाही, भुपेन्द्र खनाल, नमराज शाही, अमृत आले मगर, गणेश उपाध्याय र वीरबहादुर शाहीलगायतको टोली सहभागी रहेको छ । टोलीले विभिन्न सार्वजनिक स्थानमा पुगेर पुराना झण्डा हटाउने र नयाँ झण्डा राख्ने कार्य सुरु गरिसकेको जनाएको छ ।

अभियानमा सहभागी युवा भुपेन्द्र खनालले परिवर्तनको सुरुवात युवाबाट हुनुपर्ने बताउँदै समाजमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । “हामीले सानो कामबाट ठूलो सन्देश दिन खोजेका छौँ,” उनले भने, “राष्ट्रिय झण्डाको सम्मानसँगै समाजमा जिम्मेवार नागरिक बन्ने चेतना फैलाउनु अभियानको मुख्य उद्देश्य रहेकाे बताएका छन् । स्थानीयले बासिले  सार्वजनिक सम्पत्ति, राष्ट्रिय प्रतीक र सामाजिक जिम्मेवारीप्रति युवाहरूको सक्रियता बढ्नु राम्रो संकेत भएको भन्दै  अभियानको प्रशंसा गरेका छन् ।

अभियानकर्ताहरूले राष्ट्रिय झण्डाको सम्मान केवल औपचारिकता नभई राष्ट्रिय चेतना र नागरिक संस्कारसँग जोडिएको विषय भएको बताएका छन् । उनीहरूका अनुसार समाजमा सचेतना, अनुशासन र जिम्मेवारीको भावना विकास गर्न यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । वीरेन्द्रनगरबाट सुरु भएको यो अभियानलाई आगामी दिनमा जिल्लाका अन्य स्थानीय तहसम्म विस्तार गर्ने तयारीसमेत गरिएको छ । युवाहरूले सामाजिक रूपान्तरणका लागि सबै नागरिकलाई आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।