सुर्खेत । भारतीय यात्रा तथा पर्यटन व्यवसाय कल्याण संगठनका अध्यक्ष राजेश सिन्हाले कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा भारतीय ट्राभल एजेन्सीहरूको पूर्ण सहयोग रहने बताएका छन् । उनले कर्णालीका पर्यटकीय गन्तव्यहरू पहिलो पटक अवलोकन गरेको उल्लेख गर्दै यहाँका प्राकृतिक तथा पर्यटन सम्भावना अत्यन्त आकर्षक रहेको बताए । शुक्रबारदेखि वीरेन्द्रनगरमा जारी प्रथम कर्णाली प्रदेश पर्यटन महोत्सवको उद्घाटन सत्रमा बोल्दै सिन्हाले बाँके क्षेत्रसँग भारतीय पर्यटन व्यवसायीहरूको लामो समयदेखिको सम्बन्ध रहेको र पछिल्लो समय त्यस क्षेत्रको प्रवद्र्धन सुरु गरिएको जानकारी दिए ।
कर्णाली भने भारतीय पर्यटकका लागि नयाँ गन्तव्य भएकाले यसको प्रचार–प्रसारमा विशेष ध्यान दिइने उनले बताए । उनले भारतबाट आएका ट्राभल एजेण्टहरूलाई नेपालका पर्यटन व्यवसायी र सम्बन्धित निकायबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । नेपालका ट्राभल एजेण्टहरूको सहयोग बिना भारतीय पर्यटकलाई यहाँसम्म ल्याउन कठिन हुने उल्लेख गर्दै उनले दुवै देशका पर्यटन व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा भारतबाट आएका पत्रकारहरूले पनि कर्णालीका पर्यटकीय सम्भावना बारे राम्रो प्रचार गर्ने विश्वास व्यक्त गर्दै उनले यसले भारतीय पर्यटक माझ नयाँ गन्तव्यको रूपमा कर्णालीलाई चिनाउन मद्दत पुग्ने बताए । उनले विशेष रूपमा रारा ताललाई भारतीय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा उल्लेख गरे ।
आफूहरूसँग आएका २५ जना ट्राभल एजेण्टहरूको मुख्य चासो रारा रहेको भन्दै भविष्यमा राराको भ्रमण योजना बनाइने जानकारी दिए । उनका अनुसार रारा क्षेत्रमा पर्यटकका लागि टेन्टेड क्याम्प सञ्चालन, बसोबासको व्यवस्था तथा अन्य पर्यटन पूर्वाधार विकासमा नेपाली पक्षसँग सहकार्य गरेर काम गर्न चाहेको बताए ।



कार्यविधि संवाददाता । ८ जेष्ठ २०८३, शुक्रबार १५:२६ बजे