नेपनलमा कोभिड संक्रमणले सोमबार थप एक जनाको मृत्यु भएको छ । योसँगै साउन महिनामै कोभिडबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि आइतबार कोभिडका कारण २ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो ३ हजार ८४ पीसीआर र १ हजार ७ सय १६ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४५३ र एन्टिजेन परीक्षणबाट ११५ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार ३ सय ४७ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ३४ जना पुगेको छ ।
काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र २ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ७६ पुगेको छ । त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ३६ जना संक्रमित थपिएका छन् । भक्तपुरमा सक्रिय संक्रमितको संख्या १ सय २ र ललितपुरमा ३ सय ४१ पुगेको छ ।
सोमबारसम्म ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा काठमाडौं मात्र रहेको छ भने मोरङ र ललितपुरमा २ सयभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मनाङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला र बाजुरा रहेका छन् ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण फैलिएको छ ।
कार्यविधि संवाददाता । ९ श्रावण २०७९, सोमबार १९:१९ बजे