दसैँको पहिलो दिन हनुमानढोकास्थित दसैँघरमा राखियो जमरा

यस वर्षकाे  बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैंघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ।  आज काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवतरूपमा जमरा राखिएको छ ।

बिहान ११ बजेर २९ मिनेटको साइतमा शुभसाइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा रहीआएकाे  छ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ।

यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ।

सोक्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुन बजाएको छ । सँगै बन्दुक पड्काएर बढाइँ गरिएको छ ।

दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

हनुमानढोकाको दसैँघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मंगल धुन पनि गाइन्छ ।

कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको  छ। टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ।