पेट्रोल पम्प बन्द हुन थाले

पेट्रोलियम पदार्थ आयात नहुँदा  अधिकांश पेट्रोल पम्पहरु बन्द हुन थालेका   छन् । चाडवाडको समयमा पेट्रोल आयात कम हुँदा  पाेखराकाे पेट्राेल पम्पहरु बन्द भएका छन्   ।

पाेखराका  व्यवसायीहरुका अनुसार बिहीबारदेखि नै अधिकांश पम्पमा पेट्रोल नभएको सूचना टाँस गरेर सटर तानिएको छ । तिहारमा लगातार सार्वजनिक बिदा परेको र भण्डारण पनि सकिएपछि बन्द गर्न बाध्य भएका हाै‌  ।

तर नेपाल आयल निगमको गगनगौंडा डीपोले आयात र वितरणमा कुनै समस्या नरहेको बताएको छ । ‘पम्पवालाहरुले नै पेट्रोलियम पदार्थ नलगेका हुन् । डीपोमा भण्डारण पर्याप्त छ,’ निगमका सूचना अधिकारी श्रीधर लामिछानेले भने, ‘उहाँहरुले मागेजति दिएका छौं । उहाँहरुले नै कम माग गर्नुभएको हो ।’

उनका अनुसार शुक्रबार ३ लाख ३९ हजार लिटर पेट्रोलियम पदार्थ वितरण गरिएको छ । ‘मूल्य घट्छ कि भनेर कम तेल लगेका हुन् । तीन दिन लगातार बिदाका कारणले पनि पम्पहरु बन्द भएको हो,’ उनी भन्छन्, ‘मुख्य सहरमा मात्रै बन्द भएको छ । अन्यत्र समस्या छैन ।’ उनले बिस्तारै लयमा आउने बताए ।