बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिँदै

बागमती । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् ।

बुधवारका लागि बोलाइएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले राजीनामा दिने तयारी गरेकी हुन्। दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन ।

मुख्यमन्त्री शाक्यले विश्वासको मतको प्रक्रियामा नजाने र राजीनामा दिने बताएकी छन् । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतमाथि उठेका प्रश्नहरूको जवाफ दिइसकेपछि राजीनामा दिन प्रदेश प्रमुखकोमा जाने उनले बताएकी हुन्।

शाक्य बाग्मती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रूपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् । नेकपा एमाले विभाजित भई नेकपा एकीकृत समाजवादी बनेपछि मुख्यमन्त्री शाक्यले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेस गरेकी थिइन् ।

उक्त प्रस्तावमा कात्तिक ४ गते प्रदेशसभामा छलफल भएको थियो । त्यसपछि मत विभाजनका लागि बुधवारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।